Close sidebar

ट्यांकरको ठक्करबाट ज्यान गुमाएका दाजुभाईको शव पोष्ट मार्टमका लागि नेपालगन्ज ल्याइयो

२०८१ चैत्र ११ गते, सोमबार ०२:४३

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ स्थित बेतहनी चोकमा आइतबार ट्यांकरले ठक्कर दिँदा ज्यान गुमाएका एकै घरका दुई बालकको शव उठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीले आइतबार बेलुका दुबै बालकको शव घटनास्थलबाट उठाइएको जानकारी दिए । एसपी कार्कीका अनुसार बालकको शवलाई पोष्ट मार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएर राखिएको छ ।

स्कुलबाट फर्किदै गर्दा आइतबार अपराह्न साढे ३ बजेतिर भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा ९ वर्षीय बिशाल गोडिया र ७ वर्षीय शिवकुमार गोडियाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक दाजुभाई बेतहनीमा रहेको नौरीगढी ऐकेडेमीमा (एलकेजी)मा अध्ययनरत थिए ।

मृतकका बाबु हरिद्वार गोडियाले ट्यांकर चालकले ब्याक गरेर बच्चाहरुलाई किचेर मरेको दाबी गरेका छन । उनका अनुसार चालकले मदिरा सेवन पनि गरेका थिए । घटनापछि आक्रोसित स्थानीय बासिन्दाले ट्यांकर र प्रहरी चौकी बेतहनीमा आगजनी गरेका थिए ।

आगजनीबाट ट्यांकर पूर्ण रुपमा जलेको छ, भने प्रहरी चौकीमा आंशिक रुपमा क्षति पुगेको एसपी कार्कीले बताए । आगजनीबाट प्रहरी चौकीमा केही क्षति पुगेको हो । क्षतिको विवरण संकलन नभएको उनले जनाए । सहोदर दाजुभाईको मृत्युपछि त्यसक्षेत्रमा करीब चार घण्टासम्म तनाव उत्पन्न भएको थियो ।

स्थानीयले चालकलाई सार्वजनिक गर्नुपर्ने र आफुहरुको जिम्मा लगाउनुपर्ने माग राखेका थिए । तर, प्रहरीले सुरक्षाका लागि चालकलाई प्रहरी चौकीमा लगेर राखेपछि स्थानीयहरु प्रहरीमाथी आक्रोशित हुँदै ढुंगामुढा गरेका थिए । त्यसक्रममा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको थियो । ढुंगा मुढाका क्रममा १० जना प्रहरी र केही स्थानीय बासिन्दा घाइते भएको एसपी कार्कीले बताए ।

स्थानीयले प्रहरीमाथी ढुंगामुढा गरेपछि दर्जनौ सेल अश्रुग्याँस र हवाई फायर गरिएको थियो । घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपछि बेलुकादेखी स्थिती नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीबाट जिप्रका बाँकेमा ल्याईसकेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया