ताहिर शेष राई (साहिल)
मानपुर । बाँकेको जानकी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका बालिकालाई खोप दिइएको हो ।
मंगलबारबाट सुरु भएको खोप अभियानमा माघ २२ देखि २९ गतेसम्म ६ वटै वडाका १५ सय ६५ जना किशोरीलाई एचपीभी खोप दिन लागिएको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले जानकारी दिए । पालिका अन्तर्गत रहेका विद्यालयमा अध्ययनरत १ हजार एकसय ५० र विद्यालय बाहिर रहेका ८ सय १५ जना किशोरीलाई एचपीभी खोप दिने लक्ष्य रहेको रानाले बताए ।
गाउँपालिका प्रमुख छब्बन खाँले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभयो ।
वडा नम्बर-१, शिवपुरीस्थित श्री शिवपुरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा स्मृति परियार र शाहिदा खान किशोरीका लागि खोप अत्यन्तै लाभदायक भएको भन्दै कार्ड देखाएर रमाउँदै खोप लगाएका थिए । यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध सञ्चालन गरेको सबैभन्दा ठुलो अभियान हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।