नारायण खड्का✍️
दाङ । सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नं ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन् । उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन् ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन् । प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो । आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो ।
‘अनुसन्धानबाट पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो,’ डिएसपी न्यौपानेले भने ।
पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला-मजदुरीका लागि बाहिर गइरहन्थे । घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे । पूर्णिमाले दुई छोरीको हत्या गर्ने समयमा पनि टेकबहादुर मजदुरीका लागि नुवाकोट गएका थिए । हत्याको खबर पाएपछि मात्रै उनी घर फर्किएका थिए ।
प्रहरीका अनुसार पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै तर भारतमा बस्ने युवकसँग प्रेम सम्बन्ध थियो । अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन् । उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन । तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए ।
सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो । दुई साना छोरीहरू भिडिओमा युवकले देखेका थिए । को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी भनेर ढाँटेकी थिइन् । पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए । छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरूबीच छिट्टै भेट्ने कुरा भयो ।
भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयानसहित स्वीकार गरेको डिएसपी न्यौपानेले बताए । ‘परपुरूषसँग प्रेम सम्बन्धमा रहेको र आफू अविवाहित भएको देखाउन पूर्णिमाले छोरीहरूको हत्या गरेको पुष्टि हुन्छ,’ डिएसपी न्यौपानेले भने ।
उनका अनुसार पूर्णिमाले सामाजिक सञ्जालमा चिनेर प्रेम बसेको युवकका लागि छोरीहरूको हत्या गर्नु आफ्नो पागलपन थियो भनेकी छन् । यसअघि पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन् । हत्या गर्नुअगाडि उनले प्रेमीसँग भने फोनमा कुरा गरेको पुष्टि भएको छ।
प्रहरीका अनुसार पूर्णिमालाई श्रीमान टेकबहादुरले कुनै प्रकारको शारीरिक वा मानसिक यातान दिएको खुल्दैन । एकपटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘पूर्णिमाका श्रीमान टेकबहादुर र प्रेमी दुवै सोझासाझा व्यक्ति हुन्,’ डिएसपी न्यौपानले भने, ‘पूर्णिमाले बदमासी गरेको स्पष्ट देखिन्छ ।’
प्रहरीले पूर्णिमाका प्रेमी, उनीहरू दुवैका मोबाइल फोन पनि नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेको थियो । अहिलेसम्म घटनामा ती युवकको कुनै खाले संलग्नता नखुलेको प्रहरीले बताएको छ । मोबाइलहरू भने फरेन्सिक जाँचका लागि काठमाडौंमा पठाइएको छ। टेकबहादुरले पूर्णिमा विरूद्ध दुई छोरीको हत्याको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएका छन् । – सेतो पाटी

