नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईलाई आज राजापुरमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा निर्वाचित अध्यक्ष चौलागाईंलाई राजापुर -८आफ्नै गाउँ(धोबिनपुर)मा बुधबार हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको हो ।
६ वटा गाउँको प्रतिनिधित्व गर्ने कर्णाली युवा क्लब र जालपा सेवा समितीको संयोजनमा स्थानीय भद्र, भलादमी, नागरिक अगुवाले फूल माला, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका हुन । राजापुर – ८ ओस्ताजपुर निवासी चौलागाईं ०५६ सालदेखि निरन्तर पत्रकारितामा कृयाशिल हुनुहुन्छ ।
पत्रकारितामार्फत राजापुर क्षेत्रको विविध सवाल र मुद्दा उठान, राजापुरको समग्र विकास तथा उत्थान र राजापुर क्षेत्रको नाम र मान बढाएकोमा चौलागाईंलाई उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको हो । प्रमुख अतिथि एवं सम्मानित ब्याक्तीत्व चौलागाईंले राजापुर क्षेत्रको समग्र हित र विकासमा सदैव कलम चलाउँदै आएको स्मरण गर्दै सम्मानले पदिय दायित्व निर्वाह गर्न थप उर्जा मिलेको उदघोष गर्नुभयो ।
राजापुर क्षेत्रका पत्रकार र पत्रकारिताको विकासका लागि महासंघबाट बिशेष कार्यक्रम ल्याउन प्रयत्न गर्ने पनि उहाले विश्वास दिलाउनु भयो । सोही समारोहमा नेपाल पत्रकार महासंघ बर्दिया शाखा सदस्यमा निर्वाचित ऋषि वाग्ले, प्रेस सेन्टर बर्दियाका नवनिर्वाचित अध्यक्ष गान्दिप कायस्थलाई पनि सम्मान गरिएको थियो ।
जालपा सेवा समितिका अध्यक्ष केशवराज जैसीको अध्यक्षता भएको कार्यक्रममा वडा नं ८ का निवर्तमान अध्यक्ष चिन्ता मणि आचार्य, जेष्ठ नागरिकका तर्फबाट पुर्व प्राधनाध्पक राम प्रसाद चौलागाईं, भेरी मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुंगाना, शिक्षक शिवलाल चौलागाईं लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम शिक्षक पदमऋषि चौलागाईंले गर्नु भएको थियो ।
