काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएकोले सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात अवरुद्ध भएकाले विद्यालय बिदा गर्न स्थानीय तहहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भइ लाग्न अनुरोध गरेको उल्लेख गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न निर्णय गरेको थियो ।
शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईका अनुसार विद्यालय भवनमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालय बिदा दिन स्थानीय तहलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।