
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार उनको राजीनामा स्वीकृत गरेको आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए ।
काँग्रेस केन्द्रीय समितिबाटै राजीनामाका लागि दबाब परेपछि मन्त्री कुर्मीले मंगलबार बेलुका राजीनामा दिएका थिए । मन्त्री कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनीविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । ‘उहाँविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दा छ । अहिले अनुसन्धानकै क्रममा छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले भने ।
बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको बताइएको छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ । ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेका छन् ।
काँग्रेस-माओवादीको गठबन्धनबाट कुर्मी बाँकेको निर्वाचन क्षेत्र ३ (ख)बाट निर्वाचित भएका थिए । उनलाई साउन ९ गते काँग्रेसबाट बिनाविभागीय मन्त्री बनाएको थियो । भने मुख्यमन्त्री आचार्यले साउन १८ गते उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।
