नेपालगन्ज । विगत दुई सातादेखि बाँके जिल्लाको राप्तीपारी नरैनापुर गाउँपालिकामा झाडापखाला र वान्ताको सामना गरिरहेका बिरामीहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला स्वास्थ्य विभाग, आरआरटी टोली र युनिसेफको टोलीले संयुक्त रुपमा मृतकका परिवारजन र अज्ञात रोगका सामना गरिरहेका बिरामीहरुको स्थलगत अनुगमन गरिएको हो ।
आरआरटी टोलीका नरेश श्रेष्ठ, नरैनापुरका स्वास्थ्य अधिकृत नागेन्द्रकुमार शाह, जिल्ला स्वास्थ्य प्रमुख अंगदबहादुर शाही र युनिसेफका गाजी मोहम्मद मसुदले प्रभावित क्षेत्रको अनुगमन गरी नजिकबाट अवस्था र निगरानी गरिरहेको युनिसेफका गाजी मोहम्मद मसुदले जानकारी दिए ।
यी अज्ञात रोगबाट नरैनापुर गाउँपालिका – ६ गंगापुर स्थित सोनवर्षाका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने केही दिनअघि नरैनापुर – ३ गेग्ली गाउँमा ४ जनाको मृत्यु भएको थियोे । नरैनापुरलाई स्वास्थ्य विभाग, स्थानीय सरकार र अन्य एनजीओ/ आईएनजीओबाट तुरुन्तै पहल गर्न आवश्यक रहेको छ ।