बाँके । नेपालगन्ज उपमहानगरभित्रका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन । तातो हावा ‘लु’ का कारण अत्यधिक गर्मी बढीपछि मंगलबारदेखि शनिबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको हो ।
शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाका अनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जका सबै विद्यालय जेठ १५ गतेदेखि १९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ ।
अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउनेजस्तो समस्या देखिन थालेपछि सबै विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि नेपालगन्ज उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन ।
यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गरिनु पर्ने अभिभावकको माग छ । चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

