Close sidebar

एसीसी प्रिमिअर कप : हङ्‌कङलाई हराउँदै नेपाल सेमिफाइनलमा

२०८१ बैशाख ३ गते, सोमबार १८:०६

काठमाडौं । चुस्त फील्डिङ, बलिङ र आक्रामक ब्याटिङको सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङ्‌कङलाई आठ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । आजै भएको अर्को खेलमा कतारले मलेशियालाई हराएपछि समूह ‘ए’बाट नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । यसअघि नेपालले मलेशिया र कतारलाई हराएको थियो । नेपाल अहिले छ अङ्कसहित अंकतालिकामा शीर्ष स्थानमा छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा वर्षाको कारण खेल सुरु हुन ढिला हुँदा इनिङ्सलाई २० ओभरबाट १८ ओभरमा खुम्च्याइएको थियो । टस जितेर फील्डिङ रोजेको नेपालले हङ्‌कङलाई एक बल खेल्नुअगाडि अल-आउट गर्दै ११४ रनमा रोकेको थियो । नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका तर्फबाट कुशल भुर्तेल र आसिफ शेखको प्रारम्भिक जोडीले आक्रामक सुरुवात गरेपछि नेपालले पाएको सामान्य लक्ष्य छिट्टै पूरा गर्‍यो । पहिलो विकेटका लागि यो जोडीले छैटौँ ओभरभित्र ७० रनको साझेदारी गरेका थिए । भुर्तेलले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ३२ रन बनाए । शेखले १८ बलमा ४० रन बनाउन तीन चौका र तीन छक्का पनि प्रहार गरे ।

सातौँ ओभरभित्र यी दुई खेलाडी आउट भएपछि आएका कप्तान रोहित पौडेलले अविजित ‍२५ तथा सन्दीप जोराले १९ रन बनाएर खेल जिताए । दीपेन्द्रसिंह ऐरी र गुलशन झाले दुई खेलाडीलाई उत्कृष्ट तरिकाले रन आउट गराए । त्यसबाट हङ्‌कङका ब्याटरहरू दबावमा परे । खेलको तेस्रो ओभरमा करण केसीले मार्टिन कोइट्जको विकेट लिएसँगै नेपाली बलरहरूले विकेट लिन थालेका थिए ।

पाँचौ ओभरमा हङ्‌कङका भरपर्दा खेलाडी निजाकत खान (१२ रन) लाई ऐरीले निकै गाह्रो एङ्गलमा उत्कृष्ट ‘डाइरेक्ट हिट’ गरेका थिए । त्यस्तै नवौँ ओभरमा अंशुमान रथलाई गुलशन झाले गरेको ‘डाइरेक्ट हिट’ अर्को दर्शनीय रनआउट थियो ।अंशुले त्यति बेला २६ बलमा ३४ रन बनाएर खेलिरहेका थिए । यी दुई खेलाडी आउट भएपछि हङ्‌कङको इनिङ्स धरमराउन पुग्यो । बाँकी खेलाडीहरूले नियन्त्रित भएर खेल्न सकेनन् ।

फलत: एक समय ६१-२ को बलियो स्थितिमा रहेको हङ्कङ १३.१ ओभरमा ७६-६ को खराब स्थितिमा पुगिसकेको थियो । ललितनारायण राजवंशी र अविनाश बोहोराले विपक्षीको मध्यक्रमलाई ध्वस्त बनाइदिए । अविनाश बोहोराले तीन तथा ललितनारायण राजवंशी र दिपेन्द्रसिंह एरीले दुई-दुई विकेट लिए । नेपालका अविनाश बोहोरा ‘उत्कृष्ट खेलाडी’ म्यान अफ- द म्याच घोषित भए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया