नेपालगन्ज / झन्डै आधा नेपालीले राष्ट्रिय परिचय पत्र नम्बर लिएका छन । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार बुधवार सम्म एक करोड ३६ लाख ८७ हजार ७२३ जनाले राष्ट्रिय परिचय पत्र नम्बर लिएका हुन । जुन नेपालको कुल जनसंख्याको ४६.८८ प्रतिशत हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । गत वर्ष कात्तिक मसान्त सम्म ९९ लाख ५५ हजारले नम्बर लिएका थिए । गएको एक वर्षको अवधिमा ३७ लाख ३२ हजार थपिएका छन । जुन ३७ प्रतिशतको वृद्धि हो । ०७८ साउनदेखि राहदानी बनाउन परिचय पत्र नम्बर अनिवार्य गरिएपछि परिचय पत्र नम्बर लिनेको संख्या ह्वात्तै बढ्न थालेको छ ।
बायोमेट्रिक विवरण उपलब्ध गराए लगत्तै सरकारले राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने गर्छ । सोही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ । जुन संख्यामा परिचय पत्र नम्बर लिने बढेका छन । त्यही आधारमा परिचय पत्र नै भने वितरण गरिएको छैन । विभागका अनुसार बुधवार सम्म २४ लाख ७४ हजार ५२३ ले मात्रै परिचय पत्र पाएका छन । जुन परिचय पत्र नम्बर लिनेको १८.०७ प्रतिशत मात्रै हो ।
०६६/६७ को सरकारले आफ्नो नीति तथा कार्यक्रम राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी योजना अघि सारेको थियो । ०६७ मै गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रको स्थापना गरिएको थियो । सुरुवाती दिनमा एडिबीको एक लाख १७ हजार कार्ड छपाईको लागि अनुदान प्राप्त भएपछि योजना सुरु भएको थियो । पछिल्लो समय भने सरकार आफैले खर्च गर्दै आएको छ । – मेरो लगानी
