
नेपालगन्ज / मानव सेवा आश्रम नेपालगञ्ज शाखाले ‘आमा सेमिनार’ गर्न लागेको छ । मानवता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यही मंसिर २७ गते बुधबार एक दिने आमा सेमिनार गर्न लागिएको मानव सेवा आश्रम नेपालगञ्जले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
आमा सेमिनार स्थानीय क्यु. एफ. एक्स. सिनेमा हलमा बुधबार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने मानव सेवा आश्रमका पत्रकार केन्द्रिय महासचिव सुशिला केसी (रुपा)ले जानकारी दिइन् । हरेक मनमा मानवता प्रवर्द्धन गर्न आमा सेमिनार गर्न लागिएको मानव सेवा आश्रमको भनाई छ ।
सुन्दर र सभ्य समाज निर्माण गर्नका लागि आमा सेमिनारले महत्वपूर्ण भुमिका निर्वाह गर्ने आयोजकको विश्वास छ । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा हुन लागेको सेमिनार निःशुल्क हुने बताइएको छ । सेमिनारमा ३ सय जनाको सहभागिता रहने बताइएको छ । मानव सेवा आश्रमले देशका विभिन्न स्थानमा शाखा खोलेर सडक आश्रित मानिसहरुलाई सहारा दिँदै आएको छ ।
आश्रमको केन्द्रिय कार्यक्रम अन्तर्गत यस वर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा गरिसकेको छ । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये १२ जना महिला र ३ जना बालबालिका रहेका छन् ।
