
काठमाडौं / घरेलु टिम भारतलाई स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा एक लाख ३२ हजार उपस्थित दर्शकलाई चुप पार्दै अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । यससँगै अस्ट्रेलियाले छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।
सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो । यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन । सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो ।
यसपटक लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित हुँदा भारतको १२ वर्षपछि विश्वकप च्याम्पियन बन्ने सपना चकनाचुर भयो । अस्ट्रेलियाले यो विश्वकपमा सुरुवाती दुई खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि सात खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र फाइनलमा भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला समेत लिन सफल भयो । यसअघि अस्ट्रेलियाले सन् २००३ को फाइनलमा पनि भारतलाई पराजित गरेर उपाधि जितेको थियो ।
हेडको शतकमा अस्ट्रेलियाको सहज जित
भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान ट्राभिस हेडले शतक प्रहार गरे । सात ओभरमा तीन विकेट गएपछि उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहज बनेको थियो । लबुसेनले पनि अर्धशतक प्रहार गर्न सफल भए । तीन विकेट गएपछि हेड र लबुसेनले सम्हालिए ब्याटिङ गरेका थिए । हेडले १३७ रनको योगदान गरे । उनले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे । उनले लबुसेनसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे । लबुसेनले नटआउट ५८ रन जोडे ।
त्यसअघि खराब सुरुवात गरेको अस्ट्रेलियाका ओपनर डेभिड वार्नर दोस्रो ओभरको पहिलो बलमा ७ रनमा भारतका मोहमद शमीको बलमा विराट कोहलीबाट क्याच आउट भए । त्यसपछि मिचेल मार्स पाँचौ ओभरको तेस्रो बलमा १५ रनमा जसप्रित बुमराहको बलमा विकेटकिपर केएल राहुलबाट समातिए । स्टेभिन स्मिथ सातौं ओभरको अन्तिम बलमा ४ रन बनाएर खेलिरहँदा बुमराहकै एलबिडब्लूको धरापमा परेका थिए । अस्ट्रेलियाले पावर प्लेको १० ओभरमा ३ विकेटको क्षतिमा ६० रन जोडेको थियो । बलिङमा बुमराहले २ विकेट लिए भने सामी र मोहमद सिराजले एक-एक विकेट हात पारे ।
विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमानी दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेस उपस्थित रङ्गशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन मात्र जोड्न सक्यो । भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे । केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सकेका थिए । विराट कोहलीले ५४ रनको योगादन गरे । अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काएका थिए । भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो । दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए ।
भारतका ओपनर ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए । उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए । दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए । रोहितलाई ग्लेन म्याक्सवेलले ट्राभिस हेडको उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए । उनी आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अर्को ओभरमा कप्तान पाट कमिन्सले श्रेयष अय्यरलाई ४ रनमा आउट गरेपछि भारत दबाबमा आएको थियो । लगातार विकेट गएपछि दबाबका बीच ब्याटिङ गरेका सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र जोड्न सके भने रविन्द्र जडेजा ९, मोहमद सामी १ रन र जसप्रित बुमराह १ रनमा आउट भए । कुलदिप यादवले अन्तिम बलमा रनआउट हुनुअघि १० रन र मोहमद सिराजले नटआउट ९ रन बनाए ।
बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चिए । जोश हजलउड र पाट कमिन्सले २-२ विकेट लिए । हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले १-१ विकेट लिन सफल भए । यसपटकको विश्वकपमा विराट कोहलीले ११ खेलमा ७६५ रन बनाएर एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान भए । उनले भारतका पूर्वकप्तान सचित तेन्दुलकरको कीर्तिमान भङ्ग गरे । तेन्दुलकरले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ११ खेलमै ६७३ रन बनाएका थिए ।
