Close sidebar

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइयो

२०८० मंसिर ३ गते, आईतवार २२:१३

नेपालगन्ज / हिन्दु महिलाको पवित्र पर्व छठको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिई भव्यताका साथ छठ पर्व मनाइएको छ । भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।

छठका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिरका साथै तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाइन्छ । छठ पर्वको अवसरमा नेपाल सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको थियोे । भने छठको समापन हुने दिन सोमबार पनि लुम्बिनी प्रदेश सरकारले तराईका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया