
नेपालगञ्ज / बाँके लगायत देशभरका विभिन्न जिल्लाहरुमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । भूकम्प पश्चात् मानिसहरू घरबाहिर निस्किएका थिए ।
स्थानीयका अनुसार भूकम्पका कारण जाजरकोटस्थित खलंगामा ढुङ्गाले बनेका करिब १५ घरमा क्षति पुगेको छ । जसमा ७/८ जना परिवारका सदस्यहरू घाइते भएको बुझिएको छ । अहिले सम्म थप क्षतिको विवरण भने आएको छैन । क्षतिबारे बुझ्न प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष रोक्काले जानकारी दिए ।
भूकम्पको झटका नेपालको राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्लीसम्म महशुस गरेपनि क्षतिको विवरण भने प्राप्त भएको छैन । उक्त भूकम्पपछि कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्लाको सदरमुकाम बीरेन्द्रनगर आसपास भएर करिब ४ रेक्टर स्केलसम्मका पराकम्पनहरु पनि गएका छन । पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गईरहेका छन ।
