Close sidebar

बाँकेमा कडा सुरक्षाका साथ दुर्गा मूर्तीको शान्तिपूर्ण विसर्जन

२०८० कार्तिक ९ गते, बिहीबार ०३:३१

नेपालगन्ज / बाँकेको नेपालगन्जमा कडा सुरक्षाका साथ दुर्गा भगवतीको मूर्ति बिसर्जन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा घटस्थापनाको दिन विधिवत रुपमा पूजाआजा गरी राखिएको दुर्गा भगवतीको मूर्ति बुधबार नगरको विभिन्न भागको परिक्रमा गरी स्थानीय राप्ती नदी लगायतका स्थानहरूमा बिसर्जन गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नरैनापुर, बैजनाथ, खजुरा, जानकी र राप्ती सोनारी गाउँपालिकाका विभिन्न स्थानमा राखिएको दुर्गा भगवतीको मूर्ति पायक पर्ने नदी तथा खोलामा बिसर्जन गरिएको छ । नेपालगन्ज, डुडुवा र जानकीमा राखिएको मुर्ति डुडुवा वडा नं. ५, स्थित सिधनियाघाट, राप्तीघाट तथा सन्तलियामा बिसर्जन गरिएको छ ।

यस्तै कोहलपुर र राप्ती सोनारीमा राखिएको मूर्ति अगैंयामा बिसर्जन गरिएको हो भने खजुरा र बैजनाथका मूर्ति मानखोलामा बिसर्जन गरिएको छ । त्यसैगरी नरैनापुरका मूर्ति पनि राप्ती नदीमा बिसर्जन गरिएको छ । मूर्तिलाई ट्रक, ट्याक्टर, डिसियम लगायतमा लगेर शान्तिपूर्ण रुपमा मूर्ति विसर्जन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

मूर्ति बिसर्जन गर्ने स्थानमा कुनै समस्या हुन नदिनका लागि लाईफ ज्याकेट, रबरबोट र गोताखोरको टोली स्ट्यान्डबाई राखिएको थियो । मूर्ति विसर्जनलाई सहज र मर्यादित बनाउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियोे भने विसर्जनका लागि आयोजना गरिएको र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नेपालगन्ज नगरका विभिन्न भागमा ड्रोन मार्फत अवलोकन समेत गरेको प्रहरीले जनाएको छ ।

विभिन्न तह, तप्काका व्यक्तिसँगको समन्वय सहकार्यमा नेपालगन्जमा शान्ति व्यवस्था चुस्तदुरूस्त बनाईएको थियो । केही दिनअघि भएको घटनाबाट पाठ सिकेर कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाउँदै ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, घरबारी टोल, विपि चोक, इदगाह रोड, घोसीटोल, राप्ती रोड लगायतका घरका छतमा समेत प्रहरी परिचालन गरिएको थियोे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले मूर्ति विसर्जन शान्त, सभ्य र मर्यादित रुपमा भएको बताउनुभयो । उनले मूर्ति विसर्जनमा सबै धर्म र सम्प्रदायको अतुलनिय साथ र सहयोग पाएको बताए । ‘धार्मिक सहिष्णुताको कदर गरि सबै धर्म र सम्प्रदायको साथ एवं मूर्ति विसर्जन सभ्य, भब्य, शान्त र मर्यादित रुपमा सम्पन्न भएको छ,’ उनले भने, ‘मूर्ति विसर्जन गर्ने क्रममा भएका र्यालीलाई सफल बनाउन साथ, सहयोग गर्ने सबैलाई धन्यवाद ।’

नेपालगन्जको सुरक्षा स्थिति बारे बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायत नगरमा खटिएका थिए । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पूजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ । मूर्ति बिसर्जनका क्रममा ठूलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया