
नेपालगन्ज / अवधी पत्रकार संघ नेपालले कजरी तीज पर्व, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । संघले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा आइतबार नेपालगन्जका प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीलाई सम्मान गरेको हो । संघका केन्द्रीय सचिव समेत रहनुभएकी सांसद तिवारीलाई संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गर्नुभएको थियोे ।
बाँके जिल्लामा रहेर विगत लामो समयदेखि अवधी भाषा, कला, संस्कृति, अभियन्ताको रुपमा विशेष योगदान पुर्याएको र प्रतिनिधी सभा सदस्य जस्तो गरिमामय पदमा अवधी भाषी महिलाको हैसियतले पुगेको भन्दै विशेष सम्मान गरिएको संघका केन्द्रीय अध्यक्ष मिश्रले जानकारी दिए । सम्मान ग्रहण गर्दै सांसद तिवारीले मेरो जन्म र कर्म अवध क्षेत्रमा भएकाले मेरो पहिलो मातृभाषा नै अवधी भएको भन्दै अवधी भाषा, कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्नमा मेरो पहिलो जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले अवधी समुदायमा अनेकौं समस्याहरु रहेकाले उक्त समुदायका सवाललाई सञ्चार माध्यममा प्राथमिकताका साथ उठाउन आग्रह गर्दै ती सवाललाई नीतिगत रुपमा सम्बोधनका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद तिवारीले अवधी भाषी महिला पत्रकारहरुको न्युन सहभागिता रहेको भन्दै गाउँ समुदायबाट अवधी किशोरीलाई खोजी गरि पत्रकारिता पेशामा सहभागिता गराउनुपर्नेमा जोड दिए । उहाँले समाजको नेतृत्व गर्नका लागि महिला सक्षम छन भन्ने कुरा देखाउन आग्रह गर्दै यो पर्वले महिलाको आत्मबललाई अझै बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संघका केन्द्रीय अध्यक्ष मिश्रले अवधी भाषा, कला संस्कृतिलाई पत्रकारिताको माध्यमले संरक्षण सम्बर्द्धनमा जोड दिने उद्देश्यले स्थापना भएको यस संघले त्यस अनुरुप नै कार्य गरेको बताए । उहाँले अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि र महिला पत्रकारको सहभागिता बढाउनका लागि पहल गर्ने भन्दै सञ्चार माध्यमहरुले अवधी कन्टेण्टलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो ।
सम्मान कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, केन्द्रीय कोषाध्यक्ष सन्ध्या शर्मा, जिल्ला शाखा अध्यक्ष प्रहलाद विश्वकर्मा, उपाध्यक्ष सुनिता बर्मा, पुर्व अध्यक्ष चन्देश्वरराज त्रिपाठी, सूचना अभियन्ता रविन्द्रकुमार ज्ञवाली, नेपाल प्रेस युनियन बाँके सचिव भिष्म लोध लगायत सम्पूर्ण अवधी भाषी महिला पत्रकार, केन्द्रीय र जिल्ला समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा अवधी भाषी महिला पत्रकारहरुबीच कजरी तीज पर्वको शुभकामना आदान प्रदान गरी महिला पत्रकारहरुले नाँचगान गरि रमाइलो समेत गरेका थिए ।
