
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वार्षिक प्रगति समिक्षा एवं योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७९/८० को पालिका स्तरीय स्वास्थ्य संस्थाहरुको एक दिने समिक्षा गोष्ठी मंगलबार नेपालगन्जमा सम्पन्न गरिएको हो ।
जानकी गाउँपालिका सामाजिक विकास समितिका संयोजक राम अचल धोबीको अध्यक्षतामा तथा गाउँपालिका प्रमुख छब्बन खाँको प्रमुख अतिथित्वमा भएको गोष्ठीको उद्घाटन पानसमा बत्ती बालेर गरेका थिए ।
गोष्ठीलाई सम्बोधन गर्दै पालिका प्रमुख छब्बन खाँले विभिन्न थरिका महामारी र संस्थाका कर्मचारीहरुले उत्कृष्ट काम गरेको स्मरण गर्दै सेवा प्रवाहलाई अझ जनतामुखी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेलचक्राइँले ठूलो घटना निम्तिन सक्ने भन्दै सबैलाई सचेत बन्नुपर्ने बताउनुभयो ।
यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले विश्लेषण गरी त्रुटीहरु सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्नु पर्ने बताउनुभयो । उहाँले उपलब्धि तथा आइपरेका समस्याहरुको तुलनात्मक अध्ययन एवं विश्लेषण गर्ने, चालू आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्ने र धरातलीय यथार्थ विश्लेषण गरी भावी रणनीति बनाउने लगायत उद्देश्य राखेर बार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको बताए ।
गोष्ठीमा ६ वटै वडाका स्वास्थ्य ईन्चार्जहरुले आ-आफ्नो वडाको स्वास्थ्य सूचकांकको अवस्था, प्रगति विवरण, समस्या र चुनौतीबारे जानकारी गराएका थिए । स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा एवं योजना तर्जुमा गोष्ठीमा उत्कृष्ट कार्य सम्पादन गरेको र खजुराखुर्द स्वास्थ्य चौकी सूचकांकको आधारमा बेलभार स्वास्थ्य चौकी र साईगाउँ स्वास्थ्य चौकीलाई प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको थियोे ।
गोष्ठीमा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी, ६ वटै वडाअध्यक्षहरु, विपद् तथा वातावरण समितिका संयोजक राजेन्द्र सिंह, कार्यपालिका सदस्यहरु, स्वास्थ्य कार्यालयका दुर्गा गौतम, साईनिङ्ग अस्पतालका प्रमुख मङ्गल प्रसाद थारु, पालिकाका जनस्वास्थ्य निरीक्षक तमलाल वेलबासे लगायतको उपस्थिती रहेको थियो ।
