
काठमाडौं / पाकिस्तान क्रिकेट टोलीका शीर्ष क्रमका ब्याट्सम्यान फवाद आलमले पाकिस्तान क्रिकेटबाट सन्यास लिएका छन् । फवादको अन्तर्राष्ट्रिय करियर १५ वर्षको थियो । ३७ वर्षीय फवाद अब अमेरिकाको लिग क्रिकेट खेल्ने छन् । क्रिकबजको रिपोर्ट अनुसार उनले अमेरिकाको माइनर लिग क्रिकेट टी–२० प्रतियोगितामा शिकागो किंग्सम्यानको टोलीबाट खेल्ने छन् । तर, अहिलेसम्म फवादले यस विषयमा प्रतिक्रिया दिएका छैनन् ।
सन् २००७ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका फवाद पाकिस्तानका सामी असलम, हम्माद आजम, सैफ बदर र मोहम्मद मोहसिनको क्लबमा आबद्ध भएका छन् । फवाद भन्दा पहिले यी खेलाडीहरु पनि अमेरिका खेल्न आफ्नो देश छाडेर गएका छन् । फवादले सन् २००७ मा पाकिस्तानका लागि टी–२० र एकदिवसीयमा डेब्यू गरेका थिए । फवादले सन् २००९ मा टेस्ट डेब्यू गरेका थिए र सोही खेलमा शतक बनाएका थिए । त्यसपछि अर्को दुई खेलपछि उनी बाहिरिए र ११ वर्षको अन्तरालपछि सन् २०२० मा टेस्ट टोलीमा फर्किए ।
फवादले पाकिस्तानका लागि कुल १९ टेस्ट, ३८ एकदिवसीय र २४ टी–२० अन्तर्राष्ट्रिय खेले । उनले टेष्टको ३० इनिङ्समा १०११ रन, एकदिवसीयको ३६ इनिङ्समा ९६६ रन र टी–२० अन्तर्राष्ट्रियको १७ इनिङ्समा १९४ रन बनाएका छन् । फवादले टेस्टमा ५ र एकदिवसीयमा एक शतक पनि बनाएका छन् । यसबाहेक उनको नाममा १५ अन्तर्राष्ट्रिय विकेट पनि छन् । फवाद सन् २००९ को टी–२० विश्वकपमा पाकिस्तानको विजेता टोलीको सदस्य थिए ।
