
नेपालगन्ज / भारतमा भएको कार दुर्घटनामा नेपालगन्जका एकै परिवारका ४ जना सहित ६ जनाको दुःखद् मृत्युको खबरले अहिले त्रिभुवन चोक शोकमा डुबेको छ । शनिबार साँझ करीब साढे ६ बजेतिर भारतको उत्तर प्रदेश राज्यको जिल्ला श्रावस्ती थाना इकौनास्थित भयानक कार दुर्घटनामा उनीहरुको मृत्यु भएको खबरपछि रातिदेखि नै त्रिभुवन चोक शोकमा डुबेको हो ।
भारतीय टेलिभिजन न्युज 18 का अनुसार कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको र एक जना गम्भीर घाइते रहेको जनाएको छ । मृत्यु हुनेमा त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सन्चालक सन्तोष कुमार गुप्ताको छोरा—छोरी र सदरलाईनस्थित हरि ओम मेडिकल हलका घरबेटी दिनेश गुप्ताका छोरा—बुहारी र दुई बालबालिका (नातिनी) गरी दुई परिवारका ६ जनाको मृत्यु हुन पुगेको बताइएको छ ।
घाइते रहेका कार चालकको पनि उपचारको क्रममा मृत्यु भएको बताइएको छ । तर, यकिन विवरण भने आइसकेको छैन । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएपछि रातभर सुतेका छैनन् । नेपालगन्जका स्थानीयहरुले सामाजिक संजाल फेसबुक मार्फत दुबै परिवारका मृतकहरुलाई हार्दिक श्रद्धाञ्जली दिइरहेका छन ।
