
काठमाडौँ / राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करीब एक क्विन्टल हाराहारीमा सुनसहित भरिया तथा एजेन्टलाई पक्राउ गरेको छ । बुधबार बिहान करीब ११ बजेतिर सुन ओसारपसारमा संलग्न रहेका ३ जनालाई पक्राउ गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।
विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट अवैध रुपमा ल्याइएको उक्त सुन अध्यागमन र प्रहरीबाट समेत पास भइसकेपछि विमानस्थल भन्सार गेट अगाडिबाट स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर गन्तव्यतिर लैजाने क्रममा विभागले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका तीनैजना माथि अनुसन्धान भैरहेको छ ।
क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको बताइएको छ । अवैध सुनको तौल जोख्ने लगायतका आवश्यक प्रक्रिया थालिएको छ । बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ । जसको मूल्य करिब १ अर्ब भन्दा माथि छ ।
