Close sidebar

भारतबाट घटेर आयो खाना पकाउने एलपिजी ग्यासको मूल्य

२०८० असार १८ गते, सोमबार ००:५२

काठमाडौ / भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ । यो नयाँ मूल्यसँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ ।

यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो । आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ । त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ । नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।

भारतबाट ग्यासको मूल्य घटेर आएपछि निगमलाई ग्यासमा अब नोक्सानी नरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । त्यस्तै मट्टितेलमा भने प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया