मो. अरशद शेष राई✍️
नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ईद उल अजहा अर्थात ‘बकराईद’ भोलि मनाइँदै छ । निरन्तर तीन दिनसम्म मनाइने यो पर्वमा खसीको बलि दिने चलन छ । यस पर्वलाई ‘ईद उल अजुहा’ पनि भनिन्छ । ईद उल अजहा पर्वको अवसरमा नेपाल सरकारले बिहिवार दिन सार्वजनिक बिदा समेत दिएको छ ।
गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘नेपाल राजपत्रमा मिति २०७९/१२/२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको ईद उल अजहा ‘बकराईद’ अगामी असार १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकरा ईदको लागि केहीदिन अगाडि नै सार्वजनिक बिदाका लागि सिफारिस गरेको थियो ।
अरेबिक क्यालेन्डरमा १२ महिना हुन्छन् र जिलहिज्जा यसको अन्तिम महिना हो । ईद उल अजहा ‘बकराईद’ पर्व यस महिनाको दशौं दिन मनाइन्छ, जुन रमजान महिना अन्त्य भएको ७० दिनपछि आउँछ । नेपाली क्यालेन्डर अनुसार यस वर्ष नेपालमा ईद उल अजहा ‘बकराईद’ यहीँ असार १४ गते बिहिवार दिन मनाइँदैछ ।
ईद उल अजहा नमाज ?
नेपालगन्जको बिपी चौकस्थित ईदगाहमा बिहान ७ :३० बजे र एक्लैनी वडा नं. ३ स्थित फुल्वारी मस्जिद (मर्कज)मा बिहान ७ बजे ईद उल अजहा ‘बकराईद’ को नमाज अदा अर्थात पढ्ने छ । जबकि नमाज छुटेकाहरुका लागि फैजुन्नबी जामा मस्जिदमा बिहान ८ बजे नमाज राखिएको जानकारी प्राप्त भएको छ ।
बलिदान किन दिइन्छ ?
इस्लाम धर्मावलम्बीहरु अल्लाहको खुशीको लागि बलिदान गर्छन् । तर, इस्लाममा हलाल विधिबाट कमाएको पैसाबाट मात्र बलिदानलाई जायज मानिन्छ । यसमा खसी, भेडा, राँगा वा ऊँट जस्ता कुनै पनि जनावरको बलि दिइन्छ । बलिदान गर्दा जनावरका अंगहरू सुरक्षित र स्वस्थ्य हुनुपर्छ । चोट लागेको वा बिरामी हुनुहुँदैन भन्ने कुरामा बिशेष ध्यान दिनु पर्दछ । जनावरको बलि दिएपछि त्यसको एक तिहाइ मासु आफूलाई, एक तिहाइ परिवारका सदस्य र साथीभाइलाई र एक तिहाइ गरिबलाई दिइने धार्मिक मान्यता छ । ‘बकरीद’मा बलिदान किन दिइन्छ अब हामी तपाईलाई बताउछौँ ।
कसरी सुरु भयो प्रथा ?
इस्लाममा बलिदानको ठूलो महत्व छ । कुरान अनुसार, यो भनिएको छ कि एक पटक अल्लाहले हजरत इब्राहिम अलैहिस्सलामको परीक्षा लिन चाहन्थे । अल्लाहले हजरत इब्राहिम (अ.स.)लाई आफ्नो सबैभन्दा प्यारो चीज बलिदान गर्न आदेश दिए । हजरत इब्राहिम (अ.स.)लाई उनका छोरा हजरत इस्माइल अलैहिस्सलाम सबैभन्दा प्यारो थिए ।
अल्लाहको आदेशपछि हजरत इब्राहिम (अ.स.)ले यो कुरा आफ्ना छोरा हजरत इस्माइल (अ.स.)लाई भने । हजरत इब्राहिम (अ.स.)लाई ८० वर्षको उमेरमा सन्तान प्राप्त भएको थियो । त्यसपछि उनलाई छोराको बलिदान दिन निकै गाह्रो भयो । तर हजरत इब्राहिम (अ.स.)ले अल्लाहको आदेश र छोराको प्रेमलाई रोजेर आफ्नो छोराको बलिदान दिने निर्णय गरे ।
हजरत इब्राहिम (अ.स.)ले अल्लाहको नाम लिएर छोराको घाँटीमा छुरी चलाए । तर जब उनले आँखा खोलेर हेरे छेउमा उनको छोरो जिउँदो उभिरहेको देख्यो र उसको ठाउँमा बाख्रा जस्तो जनावर काटिएको थियो । त्यसपछि अल्लाहको मार्गमा बलिदान सुरु भएको थियोे ।
