नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० को वडा भेला आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०८० / ०८१ को लागि प्रस्तावित योजना, कार्य संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला नेपालगन्ज गणेशमान चोकस्थित साथी कृष्ण कटेजमा सन्चालन गरिएको थियो ।
भेलामा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले वडाबासीको अपेक्षा धेरै, बजेट कम भएपनि समग्र विकासका लागि हर सम्भव प्रयास भइरहेको दाबी गर्नुभयो । उहाँले वडा कार्यालयको क्षमता र स्थानीय माग अनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाउनुभयो ।
वडा सदस्य दिपेन्द्रराज श्रेष्ठले आर्थिक वर्ष २०७९ / ०८० मा सम्पन्न भएका पुर्वाधार योजनाको बारेमा जानकारी दिँदै आगामी योजना बारे पनि प्रकाश पार्नु भएको थियो । वडा सदस्य भरतध्वज शाहीले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशा हल गर्ने प्रयास गर्नु भएको थियो । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ति केसी गर्नु भएको थियो ।
आर्थिक वर्ष २०८० / ०८१ का लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघ संस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए । बिशेष गरेर सडक निर्माण , ग्रावेल, नाला व्यवस्थापन, स्वास्थ्य, सरसफाई, वत्ती, खानेपानी, युवा, महिला तथा बालबालिकाका लागि कार्यक्रम, व्यावसायिक दक्षताका लागि विभिन्न तालिम आदि विषयमा बजेट माग गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० मा एक करोड ३१ लाख ८७ हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बाल अधिकारकर्मी, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
