
ताहिर शेष राई (साहिल)✍️
जानकी (बाँके) / शैक्षिक स्तर सुधारका लागि बाँकेस्थित जानकी गाउँपालिका अन्तर्गत सन्चालित दुई सामुदायिक विद्यालयमा छड्के अनुगमन गरिएको छ । वडा नं. ५ मा रहेको श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँ र सोही वडामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँमा छड्के अनुगमन गरिएको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ नेतृत्वको अनुगमन टोलीले बिहिवार बिहान विद्यालयमा उपस्थित शिक्षकले हाजिर गर्ने समय, पढाउने शिक्षकहरुको तालिका, वार्षिक शैक्षिक क्यालेन्डर, प्रशासनिक अवस्था लगायत शैक्षिक गतिविधिका बारेमा वृहत रुपमा अनुगमन तथा निरीक्षण गरेका थिए ।
विद्यालय समयमा शिक्षक नपुग्ने र ढिला गरि पुगेका शिक्षकले विद्यार्थीलाई नपढाउने जस्ता गुनासो आएपछि शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर छड्के अनुगमन गरिएको पालिका अध्यक्षका सल्लाहकार सोहराब अली दर्जीले न्युज फ्ल्यास खबर डटकमलाई बताए ।
तातो हावा लू र अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखि सुरुमा तीन दिन बिदा दिएकोमा गर्मी बढ्दै गएपछि त्यसलाई लम्ब्याइएको थियो । पछिल्ला दस दिनदेखि स्कुल बन्द भएपनि मौसममा सुधार नदेखिएपछि जेष्ठ ३० गते बिहान ६:१५ बजेदेखि ११ बजेसम्म मात्र विद्यालय सन्चालन गर्न निर्णय गरिएको थियो ।
