
नेपालगन्ज / केही दिनयता चलेको तातो हावा लू र अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने संभावित समस्यालाई मध्यनजर गरि बाँकेका अधिकांश पालिकाले एकसाता गर्मी बिदा गरेको थियोे । तर निरन्तर एकसाता बिदा गर्दा पनि गर्मी र तातो हावा चल्ने क्रम नघटेपछि अब अधिकांश पालिकाले बिहान मात्र विद्यालय सन्चालन गर्न सकिने निर्णय गरेका छन ।
कोहलपुरमा अत्याधिक गर्मी भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने र पठनपाठनमा कठिनाइ भएपछि कोहलपुर नगरपालिकाले जेष्ठ २२ गतेदेखि ३० गते मंगलबार सम्म बिदा गरिएको भएपनि अझै मौसममा सुधार नदेखिएकाले जनाउँदै अब बुधबारदेखि बिहान मात्रै कक्षा सन्चालन गर्न सकिने गरी विद्यालय खोल्ने निर्णय गरेको हो ।
कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले कोहलपुर नगरपालिकामा रहेका विद्यालयहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सन्चालन गर्न सकिने र कक्षा ४ देखि १० सम्मका कक्षाहरू मात्र सन्चालन गर्न सकिने निर्णय गरिएको बताउनुभयो । उहाँले कक्षा ४ भन्दा कमका विद्यार्थीलाई अझैपनि घरमै राख्नुपर्ने भएकोले उनीहरूलाई बिदा दिइएको बताउनुभयो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका, जानकी र खजुरा लगायतका पालिकाहरूले पनि बिहान मात्रै कक्षा सन्चालन गर्न सकिने गरी विद्यालय खोल्ने निर्णय गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले एकसाता भन्दा बढी गर्मी बिदा गरिएको भएपनि गर्मी अझै नघटेकोले अब बिहान मात्र विद्यालय सन्चालन गर्न सकिने गरि विद्यालय खोल्ने बताउनुभयो । उहाँले विद्यालयहरु बिहान मात्र कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिईसकेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अझै केही दिन बाँकेमा तातो हावा चल्ने र चर्को गर्मी रहने अनुमान मौसम विभागले गरेको हुँदा सोही बमोजिम कार्य गर्न गराउन सबैसँग आग्रह गर्नुभएको छ । उहाँले अझैपनि केहीदिन अवस्था यस्तै रहने अनुमान गरिएकोले सबैले सचेत भएर अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र बालबालिकाको हेरचाहमा विशेष ध्यान दिन समेत अनुरोध गर्नुभयो ।
हेर्नुस् सूचना :


