नेपालगञ्ज / जय जवान, जय किसान, आत्मनिर्भर नेपाल निर्माण, हाम्रो अभियान, किसान जन स्वयं सेवक राष्ट्रिय समितिले आज किसानका माग सम्वोधनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समितिका राष्ट्रिय संयोजक नारायण प्रसाद धिमाल, जिल्ला संयोजक शालिकराम पाठक नेतृत्वको किसानको टिमले शुक्रबार निमीत्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई भेटेर ३६ बुँदे मागसहितको ज्ञापन बुझाएको हो ।
किसानहरुलाई संगठीत गर्दै सबै जिल्लाबाट मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएर ३० दिन भित्र सम्बोधनको बतावरण सिर्जना गर्न दवाव सिर्जना गरिदैछ । ज्ञापन पत्रमा किसानलाई राष्ट्रीय श्रमिक घोषणा गरिनु पर्ने, किसानकार्डको व्यवस्था गरिनुपर्ने, पेन्सनको व्यवस्था गरिनुपर्ने, कृषि सिंचाईको लागि निशुल्क बिजुलीको व्यवस्था गरिनुपर्ने, कृषि उपकरणको भन्सार शुल्क छुट गरिनुपर्ने, बाली नालीको विमाको व्यवस्था गरिनुपर्ने, न्यून व्याजदरमा ऋण उपलव्ध गराइनु पर्ने, मलखादमा सहुलियत दिइनु पर्ने लगायतका ३६ माग समावेश गरिएका छन् ।
जिल्ला जिल्लाबाट ज्ञापन पत्र बुझाईसकेपछि प्रधानमन्त्री समक्ष छलफल गरेर माग सम्बोधन गर्न लगाइने संयोजक धिमालले बताउनुभयो ।
