न्युज डेस्क / भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारले इरानी राष्ट्रपतिसँग भेट गरेका छन् । इरानका राष्ट्रपति सैयद इब्राहिम रईसीले विश्व व्यवस्था द्रुत गतिमा परिवर्तन भइरहेको र यो परिवर्तनमा भारत र इरानले भूमिका खेल्न सक्ने बताएका छन् । तेहरान भ्रमणमा रहेका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
तेहरान र नयाँ दिल्लीबीचको सम्बन्धलाई घनिष्ट बनाउन आह्वान गर्दै इरानी राष्ट्रपति राईसीले भारत र इरानबीचको सम्बन्ध बलियो भएमा दुवै देशको हित संरक्षणका साथै अफगानिस्तान जस्ता समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
सोमबार भएको बैठकमा भारतका उच्च सुरक्षा अधिकारी डोभालले विश्व ठूलो परिवर्तनबाट गुज्रिरहेको तथ्यलाई पुष्टि गरेका छन् । उनले भने, नयाँ दिल्लीले यो परिवर्तनमा सकारात्मक भूमिका खेल्न भारतले आफ्ना छिमेकी देशहरू, विशेष गरी इरानसँगको सम्बन्धलाई सुदृढ र गहिरो बनाउन आवश्यक रहेको बताए ।
– डा. जैनुल अबेदिन
