
ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ करमोहना स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले शैक्षिक सत्र २०८० का लागि नयाँ भर्ना अभियानलाई तीब्र पारेको छ । सरकारले बैशाख ३ गतेदेखि १९ गतेसम्म विद्यार्थी भर्ना अभियान अन्तर्गत विद्यालय पहुँचबाट टाढा रहेका बालबालिकालाई निरन्तरता दिंदै भर्ना अभियान कार्यक्रमलाई तीब्रता दिएको हो । लामो समयदेखि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस सामुदायिक विद्यालयले बिहिवार विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक जाकिर सिद्दिकीको नेतृत्वमा शैक्षिक सत्र २०८० को ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित नयाँ भर्ना अभियान कार्यक्रमलाई निरन्तरता दिएका हुन ।
विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउन सरकारले तोकेको मितिदेखि नै विद्यालय भर्ना अभियान तिब्र पारेको प्रधानाध्यापक जाकिर सिद्दिकीले बताउनुभयो । उनले गुणस्तरीय शिक्षण सिकाईका लागि विद्यालयले खेलकुद पर्याप्त शैक्षिक सामाग्री, अनुभवी शिक्षक तथा दिवा खाजा लगायत व्यवस्था रहेको बताए । विद्यालयले गरिब, जेहेन्दार, जनजाति र दलित छात्र-छात्राहरुलाई छात्रबृतिको व्यवस्था एवम् प्रत्येक वर्ष शैक्षिक भ्रमण गराउनुका साथै इन्टरनेट सुबिधा सहित बालमैत्री व्यवहार मार्फत पठनपाठन सञ्चालन गराइने व्यवस्था समेत रहेको छ ।
बालबालिकाहरुलाई सिकाइमैत्रीका लागि खुल्ला वातावरण तयार गरी स्वतन्त्र रुपमा आम सह-पाठीहरुबीच छलफल गराउने, दण्ड रहित शिक्षामा जोड दिने, विद्यार्थीमा स्वतन्त्रता प्रदान गरेर सहजरुपमा आफ्ना जिज्ञासा राख्नका लागि तत्पर रहने वातावरण तयार गर्ने, आत्मविश्वासका साथै स्पष्टता तथा विचारको स्पष्ट धारणा राख्न पाउने, बालमैत्री तथा सिकाई मैत्री वातावरणमा जोड दिने प्रधानाध्यापक सिद्दिकीले बताए । भर्ना अभियान कार्यक्रममा विद्यालयका शिक्षक / शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
