काठमाडौं / साउदी अरेबियालाई हराउँदै ओमान एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रनमा अलआउट भैई सेमिफाइनलमा पुग्न चुक्यो ।
विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको साउदीका लागि अब्दुल वाहिद र साद खानले उत्कृष्ट पारी खेले । ८६ बलको सामना गरेका वाहिदले १४ चौका र १ छक्कासहित ९५ रन बनाए । त्यस्तै, खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रनको इनिङ खेले । ७ रन बनाउँदा पहिलो विकेट गुमाएको साउदीका लागि वाहिद र सादले शतकीय पारी खेले । उनीहरू एकै ओभरमा आउट भएपछि भने साउदीको विकेट पतन रोकिएन ।
तल्लोक्रममा कप्तान हिशाम शेखले ३६, अब्दुल वाहिदले २५ र आतिफ–उर–रहमानले अविजित १६ रन जोडे । बाँकी ब्याटरले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । ओमानका लागि बिलाल खानले ४, जय ओडेद्राले ३, जीशान मक्सूदले २ र अयान खानले १ विकेट लिए । त्यसअघि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । उसका लागि जतिन्दर सिंह, मोहम्मद नदीम, कप्तान जीशान मक्सूद, कश्यप प्रजापति र सोयब खानले अर्धशतकीय पारी खेले । ७९ बलको सामना गरेका सिंहले ११ चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाए । त्यस्तै, नदीमले ३८ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ७१ रनको इनिङ खेले । सोयब खानले ७९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।
त्यस्तै, कप्तान मक्सूदले ४९ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे । प्रजापतिले ५३ बलमा ६ चौका र २ छक्कासहित ५१ रनको योगदान दिए । आयन खान १२ रनमा अविजित रहे । साउदीका लागि आतिफ–उर–रहमानले ३ र अब्दुल वाहिदले २ विकेट लिए । आजको जितसँगै ओमान नेपाललाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले समूह चरणको चारवटै खेल खेल्दा ३ मा जित तथा एक खेलमा हार बेहोर्यो ।
योसँगै सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । अहिलेसम्म समूह ‘ए’ बाट नेपाल, ओमान तथा समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगेका हुन् । अब चौथो टोलीको रूपमा बिहीबार हङकङ र बहराइनबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारविरुद्ध खेल्नेछ ।
वैशाख ५ गतेदेखि काठमाडौंस्थित त्रिवि र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको सेमिफाइनल वैशाख १६ र फाइनल खेल वैशाख १८ गते हुनेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपमा छनोट हुनेछन् ।
