नेपालगन्ज / अछामको पञ्चदेवल विनायक नगरपालिका – ४ मा १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणलाई लिएर अनेरास्ववियुले आज अछाम जिल्ला बन्द घोषणा गरेको छ ।
अनेरास्ववियु अछामले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै बुधबार बिहानैदेखि अछाम जिल्ला पूर्णरूपमा बन्द घोषणा गरेको हो ।
शाही मृत्यु प्रकरणलाई लिएर सत्यतथ्य पत्ता लगाउन दवाब स्वरूप स्थानीय तथा विद्यार्थी नेताहरु आन्दोलित बनेपछि जिल्लाका व्यवसाय, शैक्षिक संस्था, सरकारी कार्यालय र यातायात पूर्ण रुपमा बन्द रहेका छन् ।
बन्दका कारण सदरमुकाम मंगलसेन बजार बिहानैदेखि सुनसान रहेको छ । शैक्षिक संस्था, बजार र यातायात पूर्ण रुपमा बन्द रहेका छन् । शाहीको न्यायका पक्षमा बन्दको आह्वान भएकाले बेलुकी ५ बजेसम्म बन्द जारी रहने अनेरास्ववियु अछामका सचिव भीम बडाहितले बताए ।
यस्तै जिल्लास्थित प्रमुख राजनीतिक दल नेपाली कांँग्रेस र नेकपा एमालेले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माँग गरेका छन्।
नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांँग्रेसका कार्यकर्ताहरूबाट भएको आरोप लगाएको छ भने नेपाली कांँग्रेसले उक्त आरोपको खण्डन गरेको छ ।
यसैगरी नेपालगन्जमा पनि शाही मृत्यु प्रकरणलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाई हत्यारालाई फाँसीको माँग गर्दै बुधबार बिहान करीब ११ बजेतिर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा हत्यारालाई फाँसी देऊ, बिद्यार्थी मार्न पाइन्दैन, युवा मार्न पाइदैन, मानव अधिकारको सम्मान गर, पीडितको जाहेरी तत्काल दर्ता गर, मृतक बिनोद शाहीलाई न्याय देऊ, हत्यारालाई तत्काल गिरफ्तार गर जस्ता नाराहरू लगाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराहरू लेखिएका प्ले-कार्डहरू समेत बोकेका थिए
पाँच दिनदेखि हराइरहेका शाहीको शव गाउँकै भीरमा जेष्ठ २१ गते भेटिएको थियो । मृत अवस्थामा फेला परेको ५ दिनसम्म पनि शाहीको शव उठाउन सकिएको छैन । शाहीको हत्या अभियोगमा ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
