काठमाडौ / मलेसियामा जारी आइसिसी यू –१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ । जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप क्रिकेट खेल्ने सपना समाप्त भएको हो ।
युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । थाईल्यान्डको लागि थिपाच्चा पुथावाङले ३१ बलमा सर्वाधिक २० रन बनाइन् ।
बोलिंग तर्फ नेपालकी स्पिनर मनिषा उपाध्यले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराको नाममा १ विकेट रह्यो ।
जितको लागि ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो । नेपालकी सृष्टि जैशी २१ बलमा सर्वाधिक ७ रनमा अविजित रहिन् । साना प्रविनले २१ बलमा ६ रन बनाइन् । अञ्जली विश्वकर्मा ३, सनु राजवंशी र अश्मा पुलामी मगर शून्यमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्न थाईल्यान्डकि अनु कडायत ५, कृतिका मरासिनी ३, मनिषा उपाध्य ३, रञ्जु श्रेष्ठ र स्नेहा महरा १–१ रनमा आउट भए । थाईल्यान्डकी नथिता बुनसुखमले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो ।
६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले पहिलो पटक आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू – १९ महिला टि–२० विश्वकप खेल्न पाउनेछन् । युएईको सम्भावना उच्च छ । समान ४ खेलमा अपराजित रहेपनि नेट रनरेटको कारण युएई शीर्ष स्थानमा छ ।
नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ। बिहीबार नै युएई र थाईल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लज्जास्पद अविश्वसनिय हार नबेहोरे युएई विश्वकपमा पुग्ने उच्च सम्भावना छ ।
