काठमाडौ / आइसिसी यू – १९ महिला टि २० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै नेपाल शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना कठिन बनेको हो ।
शनिबार भएको खेलमा मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको थियो ।
नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् भने ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १–१ रनमा आउट भए ।
लज्जास्पद ब्याटिङ गर्ने क्रममा नेपालका ६ खेलाडी अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनीले खाता खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन् । इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइएकी छिन् भने सिमराले १ विकेट लिइएकी थिइन् ।
जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गरी ११३ बल अगाबै म्याच जित्यो ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने युएईले भुटानलाई १ सय ६० रनले भारी अन्तरले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू-१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ । नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ ।
