नेपालगन्ज / आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरादेखि जोमसोमको लागि उडेको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाइएकाहरु प्रति नेपालगन्जमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालगन्ज युवाले आयोजना गरेको विमान दुर्घटनामा ज्यान गुमाइएकाहरु प्रति सोमबार साँझ करीब ६ बजेतिर नेपालगन्जको बिपी चौकमा क्यान्डील बालेर मौन धारण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
ट्वीन इन्जिन भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जना मध्ये २१ जनाको शव सोमबार भेटिएको हो । उद्धारमा सहभागी सेनाका अनुसार एक शव भने अहिलेसम्म भेटिएको छैन ।
आइतबार बेपत्ता भएको विमान सोमबार मुस्ताङको थसाङ गाउँपालिका – २ मानापाथी हिमाल नजिकै मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
उक्त विमानमा चार भारतीयसहित दुई जर्मन र १३ नेपाली पनि सवार थिए । यससँगै विमानमा चालक दलका तीन सदस्यसहित कुल २२ जना सवार थिए ।
श्रद्धाञ्जली कार्यक्रममा विभिन्न संघ- संस्थाका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
