नेपालगन्ज । बाँके प्रहरीले लागूऔषध विरुद्ध सञ्चालन गरिएको विशेष अपरेसन अन्तर्गत लागूऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । खजुरा गाउँपालिका क्षेत्रमा रहेको एक घरमा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरबाट दुईसय ७५ ग्राम ब्राउनसुगर फेला पारेको पुष्टि गरेको छ ।
पक्राउ पर्ने व्यक्ति खजुरा गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय अजिजुल रहमान खान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएको लागूऔषधसँगै नगद रकम, मोबाइल फोन र अन्य कागजातसहित विभिन्न सामग्री लगायत फेला परेका जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय रूपमा लागिरहेको बताए । प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबार विरुद्ध कडाइ जारी राख्ने चेतावनी दिएको छ ।

