
शुक्रऋषि चौलागाईं✍️
‘बालेन सरकारले पाँच सय र एक हजारका नोट बन्द गर्दै’, ‘प्रदेश सभा खारेज गर्ने बालेन सरकारको तयारी’, ‘एमाले नेता महेश बस्नेत पक्राउ’ जस्ता शीर्षकहरू, फगत शीर्षक मात्रै हुन् । समाचार होइनन् । तर हाम्रा सामु यी विषयहरू समाचार जस्तै छ्यापछ्याप्ती प्रसारित भइरहेका हुन्छन् । तर यी फेक न्युज अर्थात् मिथ्या सूचना हुन् ।
बालेन सरकारले प्रदेश सभा खारेज गर्दैछ भन्ने कुरा दुई साता अघि फेसबुक, अनलाइन र युट्युबमा फैलियो । भ्रामक स्क्रिन सट र भिडियो क्लिप भाइरल भए । जब कि यो विषयमा आधिकारिक प्रस्ताव या निर्णय सार्वजनिक भएको छैन ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँच सय र एक हजारका नोट प्रतिबन्ध गर्दै छन् भन्ने अफवाह सार्वजनिक भयो । नेपाल राष्ट्र बैंकले यो हल्ला मात्रै हो, त्यस्तो कुनै योजना छैन भनेर पुष्टयाई दिन पर्यो । त्यस्तै केही दिन अघि एमाले सचिव महेश बस्नेत पक्राउ परे भनेर समाचारहरू आए तर उनलाई पक्राउ गरिएकै थिएन ।
यी र यस्तै संवेदनशील विषयलाई पनि अतिरञ्जित ढङ्गले मिडियामार्फत चर्चामा ल्याउने र थप आतङ्कित बनाउने कार्य अझै रोकिएको छैन । प्रत्येकको हातमा मोबाइल छ तर के सही र के गलत भन्ने छुट्याउन सक्ने ल्याकत छैन ।
फेक न्युज, अङ्ग्रेजी शब्दहरू हुन् तर पछिल्लो समय यी शब्दहरूको अत्यधिक प्रयोगसँगै नेपालीकरण गरिए सरह छ । फेक न्युज केवल गलत सूचना मात्र होइन, यो त एउटा जानाजान गरिएको छलकपट हो । गलत सूचना उत्पादन गर्ने र फैलाउने गतिविधि पनि हो ।
सत्यताबाट विमुख झुटो, भ्रमपूर्ण सूचना हो, जसलाई समाचारको रूपमा विभिन्न सामाजिक सञ्जालमार्फत प्रसारण या प्रस्तुत गरिन्छ । यसमा काल्पनिक घटनाहरूलाई पनि वास्तविक रूपमा प्रस्तुत गरिएको हुन्छ । यस्तो गलत सूचनालाई तीन भागमा विभाजन गरेर हेर्ने गरिन्छ । पहिलो, मिसइन्फरमेशन । दोस्रो, डिसइन्फरमेशन । तेस्रो, मालइन्फरमेशन ।
फेक न्युजमा भावनात्मक भाषा, क्लिकबेट हेडलाइन, फेक फोटो, भिडियो वा एआई जेनेरेटेड डिपफेकको प्रयोग गरिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम, भाइवर, युट्युब, एक्स आदि) को विकाससँगै यो छिटो र व्यापक रूपमा फैलिँदै गएको छ ।
जनमत प्रभावित गर्नु, राजनीतिक लाभ लिनु, घृणा फैलाउनु वा आर्थिक फाइदा कमाउनु पनि फेक न्युजको उद्देश्य हो ।
फेक न्युजको महामारी :
आम सञ्चारका विज्ञहरूका अनुसार फेक न्युजले कुनै पनि घटनाको वास्तविकता तोडमोड गरी मान्छेलाई भावनात्मक रूपमा प्रभावित पार्ने उद्देश्य राख्छ । यो केवल ‘गलत सूचना’ मात्र होइन– एक किसिमको हतियार हो ।
सत्य–तथ्यभन्दा पनि आक्रोशजन्य भावना जगाउने भाइरल सामग्रीलाई सामाजिक सञ्जालले स्थान दिने र व्यापक बनाउने काम गर्दै आएको छ । सञ्जालका विभिन्न प्लेटफर्म सही ढङ्गले नचलाएकै कारण पछिल्लो समय अनेक चुनौती र दुर्घटना निम्तिरहेको छ । सञ्जालमा सार्वजनिक फेक न्युजले नै अहिले महामारीको रूप लिँदै छ ।
सामाजिक सञ्जाल आफैमा खराब होइन तर त्यसको सदुपयोग भन्दा दुरुपयोग हुने खतरा बढ्दै गएको छ । एउटा फेक सञ्जाल सञ्चालन गरी सामाजिक सञ्जाल मार्फत फेक न्युज भाइरल गराइन्छ । एउटै फेक समाचारलाई एकै समयमा धेरै माध्यमबाट शेयर गराइन्छ । प्रायः गोप्य रूपमा रहने यी व्यक्ति या समूह आफ्नो लक्ष्य र उद्देश्य अनुसार फेक न्युज मार्फत युद्ध फैलाउँछन् ।
नेपालमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि फेक न्युजको बाढी आयो । त्यसताका फैलिएका फेक न्युज, फोटो र भिडियोले अफवाहको बजार ततायो । भदौ २३ गतेको आन्दोलनमा भएको मानवीय क्षति र घाइतेको विषयमा भ्रामक सूचना फैलियो । फेक भिडियोहरू सार्वजनिक गरिए । दोस्रो दिनको आगजनी र तोडफोड पनि भ्रम फैलाउनेका लागि अवसर बन्यो । सामाजिक सञ्जालमा आएका अनेक फेक न्युज र भिडियो क्लिपले स्थिति थप त्रासदीपूर्ण बनायो ।
इजरायली संस्था सायब्राको प्रतिवेदन अनुसार भदौ २३–२४ को जेनजी विद्रोहमा अनलाइन संवादको ३४ प्रतिशत हिस्सा नक्कली एकाउन्ट र एआईद्वारा निर्मित सामग्रीबाट प्रभावित थियो । १४ लाखभन्दा बढी अन्तर्क्रियामध्ये एक लाख ६४ हजार शङ्कास्पद खाताबाट भएको थियो, जसले ३२ करोड बढी स्क्रिनमा पुगी सरकार विरोधी भाष्यलाई अतिवादी बनाउने प्रयास गरेको थियो ।
फेक न्युज सामान्य गल्ती होइन, यो लोकतान्त्रिक बहसमाथिको हस्तक्षेप हो । फेक न्युज स्पष्ट रूपमा ‘नक्कली’ देखिन्थ्यो भने कोही पनि झुक्किँदैनथ्यो । भ्रमित समाचारले जो कोहीलाई पनि झुक्क्याउन सक्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको एक तथ्याङ्क अनुसार, इन्टरनेट प्रयोगकर्ता सङ्ख्या तीव्र गतिमा बढिरहेको छ तर सोही अनुपातमा मिडिया र डिजिटल साक्षरता बढेको छैन । नेपालमा डिजिटल साक्षरता लगभग ३१ प्रतिशत मात्रै छ । अधिकांश प्रयोगकर्ताले समाचारको स्रोत हेर्दैनन् र हेडलाइन मात्र पढेर प्रतिक्रिया जनाउँछन् । धेरैजसो प्रयोगकर्ता सामाजिक सञ्जालमा भेटिने सबै सूचनालाई समाचार ठान्छन् ।
फलतः उनीहरू भावनात्मक र भ्रामक सामग्रीबाट सजिलै प्रभावित हुन्छन् । धारणा बनाउँछन् र निर्णय लिन्छन् । कसैलाई होच्याउने वा बदनाम गर्ने हेतुले आउने गलत समाचारहरू रातारात सामाजिक सञ्जालमा फैलिएर विभिन्न आपराधिक घटना हुने गरेको उदाहरणहरू पनि छन् ।
थोरै पैसा तिरेपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामा समाचारहरू नै धेरै माझ पुग्ने गरी बुस्ट गर्न मिल्ने व्यवस्था पनि झनै घातक छ । फेक न्युजले आपसमा अविश्वास सिर्जना गरिदिने, मानसिक तनाव दिने र गलत निर्णय लिन बाध्य पार्न सक्ने स्थिति सिर्जना गरिदिन्छ । फेक न्युजले व्यक्तिको जीवनसँगै समाज, राजनीति र अर्थतन्त्र जस्ता विषयमा पनि गम्भीर असर पार्छ । – रातो पाटीबाट


