नेपालगञ्ज । बाँके प्रहरीले बसमा डाका- चोरी गर्ने गिरोहमा संलग्न चार जनालाई पक्राउ गरेको छ । ६/७ जनाको समूहमा आएका व्यक्तिहरूले हातहतियार देखाएर यात्रुहरूलाई त्रसित बनाउँदै नगद तथा मोबाइल लगायतका समान लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थित बसपार्कबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार यात्रुहरूलाई लक्षित गरी हातहतियार देखाएर चोरी- डाकामा संलग्न व्यक्तिहरुलाई खोजतलास र अनुसन्धान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १९ का २४ वर्षीय रामु परियार, २८ वर्षीय सुवास बिष्ट र २६ वर्षीय संजय क्षेत्री रहेका छन् , भने कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न समूहले यात्रुहरूलाई धाक, धम्की र डर देखाउँदै करिब ५९ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा अन्य जिन्सी सामान लुटेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि डाँका चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको छ, भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।



