नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागू औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
हाल नेपालगन्ज क्षेत्रमा लागु औषध सेवन र बिक्री बितरणको आखाडा बन्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँचका क्रममा उनीहरूबाट करिब १ सय ४४ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सुचना अधिकारी डिएसपी दिपक पातलीले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर बस्ने सोनु जोलाह, सोही वडामा बस्ने इरफान जोलाह, मन्ना जोलाह र वडा नम्बर १८ बस्ने सुमेर शेख रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार तथा कारोबार विरुद्ध अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने बताइएको छ ।


