Close sidebar

जात, धर्म र लिंगको आधारमा कांग्रेसले कहिल्यै राजनीति गर्दैन: कोइराला

२०८२ फाल्गुन १४ गते, बिहीबार २०:४५

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले जात, धर्म र लिंगको आधारमा कांग्रेसले कहिल्यै राजनीति नगर्ने प्रष्ट्याएका छन् । बाँकेको जानकी गाउँपालिकास्थित मानपुरमा नेपाली कांग्रेस बाँकेले बिहीबार आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले हरेक कालखण्डमा नेपाली कांग्रेसले महिला, दलित, मधेसी, मुस्लिमलाई राष्ट्रपति, मन्त्री र सांसद बनाएको प्रष्ट्याए ।

‘नेपाली कांग्रेस कहिल्यै पनि जात, धर्म, लिंगको आधारमा राजनीति गर्दैन, हामीले कोही पनि साथीहरुलाई जात, धर्म र लिंगको आधारमा नेता बनाएका छैनौं,’ उनले भने, ‘नेपाली कांग्रेस त्यस्तो पार्टी हो, जसले वीपी कोइराला पहिलो पटक प्रधानमन्त्री हुँदा महिलालाई मन्त्री बनाउनु भएको थियो, नेपाली कांग्रेस यस्तो पार्टी हो जसले मधेसीको छोरालाई प्रथम राष्ट्रपति बनायो, सुशील कोइराला प्रधानमन्त्री हुँदा बाँकेबाट दलित र मुस्लिमले सांसद बन्ने अवसर पाउनुभयो ।’ सरकारलाई खबरदारी गर्दा गत भदौ २३ र २४ गते देश दुर्घटनामा गएको स्मरण गर्दै उनले देशका लागि कलिला युवाले रगत बगाउनु एकदमै दुःखद घटना भएको बताए ।२००७ सालदेखि हालसम्म नेपाली कांग्रेसले नै परिवर्तनको नेतृत्व गरेको स्मरण गराउँदै कांग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले जेनजी आन्दोलनपछि सबैभन्दा पहिला आफूलाई परिवर्तन गरेर प्रमाणित गर्ने पार्टी पनि कांग्रेस नै भएको बताए । सभापति गगन थापाको नेतृत्वमा परिवर्तन भएको कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ स्थानमा आफू जस्ता नयाँ युवाा अनुहारलाई उम्मेदवार बनाएको कोइरालाले सुनाए । ‘त्यसैले नेपाली कांग्रेसले आफ्नो नेतृत्व मात्रै होइन, नीतिमा पनि परिवर्तन गरेको छ, युवाहरुले यो कुरा बुझ्न जरुरी छ,’ उनले भने ।

वास्तविक जेनजीको भावनामाथि खेलवाड गरेर कतिपयले जेनजीका नाममा पार्टी खोलेको उनको भनाई छ । ‘जेनजी युवाको नाममा विभिन्न राजनीतिक दल खुलेका छन्, विभिन्न सामाजिक सञ्जालबाट भ्रम फैलाउने काम गरिएको छ,’ उनले अगाडि भने । विगतमा राजनीतिक दलहरु खराब हुन् भन्ने काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर अहिले राजनीतिक दलमा प्रवेश गरी राजनीतिमा लागेको कोइरालाले बताए । उम्मेदवार कोइरालाले आफूले पाँच वर्षसम्म जनताको सेवक भएर काम गर्ने वाचा पनि गरे ।
‘म कुनै पनि भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचारका विरुद्ध सडक र सदनमा आवाज उठाउनेछु,’ उनले भने । अर्को प्रसंगमा उनले आसन्न निर्वाचनका लागि निष्पक्ष रुपमा शान्ति, सुरक्षाको भूमिका निभाउन बाँके प्रहरीलाई आग्रह गरे । ‘सुरक्षा कमजोरीले चुनाव बिथोलिने काम नहोस्, निष्पक्ष रुपले शान्ति सुरक्षाको काम गरिदिनुहोस्,’ कोइरालाले भने ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया