समुदायगत विविधता निर्वाचन क्षेत्र नम्बर २ बाँकेको महत्वपूर्ण परिचय हो । विविधताभित्र निहित एकताको भाव अनि खुसहाल जीवनको चाहले नै हामीलाई आपसमा बाँधेको छ ।
यही भाव र चाहलाई एकाकार गर्दै नीतिगत सुधारसहित नेपालगन्ज र डुडुवामा विकास निर्माणको कार्यमा रफ्तार बढाउनु हाम्रो प्राथमिकता हो । यो प्राथमिकतालाई कार्यान्वयन गर्दै आफ्नो समृद्धिको यात्रामा अघि बढ्न तत्पर छन् , “नेपालगन्ज र डुडुवा” ।
यहाँको राजनीति सशक्त र राजनीतिज्ञ प्रभावशाली हुँदामात्र समृद्धिको यात्रा सहज हुन्छ । हाम्रो सुदृढ राजनीतिक वर्चस्व, सामाजिक-आर्थिक बदलाव, पूर्वाधार विकास, कानुन र नीति-नियम निर्माण तथा त्यसको पालनामा हामी सदैव प्रतिबद्ध रहँदै आएका छौं ।
केन्द्रीय राजनीति र सत्तामा यहाँका राजनीतिज्ञको प्रभाव र पहुँच भएका बखत प्राप्त उपलब्धि हाम्रा लागि शिक्षा हुन् । जसको मनन् गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हामी नेपालगन्ज र डुडुवासीले विवेकपूर्ण निर्णय लिने नै छौं ।
सद्भाव र सहिष्णुता हाम्रा पहिचान हुन् । फरक पुस्ताबीच नेह र सम्मान हाम्रा संस्कार हुन् । तर यतिबेला फरक सम्प्रदायका बीचमा फाटो ल्याउने र अन्तरपुस्ता द्वन्द्व बढाउने षड्यन्त्रमुलक गतिविधिहरू हावी हुन खोजिरहेको अवस्था छ ।
मुख्यगरी विद्यमान शासन व्यवस्थाका विरोधी र राष्ट्रिय स्वाधीनता कमजोर पार्न उद्धत रहेकाहरू यस्तो षड्यन्त्रमा संलग्न छन् । उनीहरूको उद्देश्य साम्प्रदायिकता र अन्तरपुस्ता द्वन्द्व बढाउने तथा राष्ट्रियता कमजोर पार्ने हो भन्नेमा अब कुनै द्विविधा रहेन । अतः यो निर्वाचन भनेको साम्प्रदायिक द्वन्द्व र ध्वंस मच्चाउन चाहनेहरू तथा राष्ट्रियता र विकास निर्माणको प्रबर्द्धन चाहनेहरू बीचको लडाईं पनि हो । यो महत्वपूर्ण घडिमा तपाइँहरूले अन्तरआत्माको आवाज सुनेर उपयुक्त निर्णय लिनुहुनेमा हामी निश्चिन्त छौं ।
विकास र सद्भाव विथोल्ने कयौं षड्यन्त्रहरू नाकाम पार्दै हामी अहिलेको अवस्थासम्म आइपुगेका हौं । यस्ता षड्यन्त्रहरू नाकाम बनाउने सवालमा बाँके क्षेत्र नम्बर २ ले उदाहरणीय इतिहास रच्दै आएको छ । जुन इतिहास आउँदो फागुन २१ गतेको निर्वाचनमार्फत पनि हामीले पुनःरचना गर्नुछ । विकास, एकता र सद्भावको मूल मन्त्र आत्मसात गर्दै समावेशी विकासको अवधारणा अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाँकलाई समृद्ध र खुसहाल बनाउन हामी प्रतिबद्ध छौं ।



