रौतहट । राैतहटको सदरमुकाम क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको समय मस्जिदमा “तरावी” नमाज (प्रार्थना) भइरहेको बेला हिन्दू समुदायको जन्तीमा “डिजे” ठूलो आवाजमा मस्जिद अगाडि बजाई रहेको विषयलाई लिएर बिहिवार विवाद सुरु भएको प्रहरीले जनाएको छ ।
गौर नगरपालिका वडा नम्बर ६ स्थित सबगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
शुक्रबार बिहानदेखि गौर क्षेत्रमा दुई समुदाय प्रतिकारमा उत्रिंदा स्थिति थप तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर तथा अश्रुग्यास प्रहार गरेको थियाे । अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ, भने घटनामा संलग्न १८ जनालाई नियन्त्रणमा लिइएको प्रशासनले जानकारी दिए ।
झडपका क्रममा प्रदर्शनकारीले र केही सवारीसाधनमा आगजनी गर्नुका साथै मस्जिद तथा घरमा तोडफोड गरेका छन् भने केही सर्वसाधारण र प्रहरी सामान्य घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित रहन र अफवाहपछि नलाग्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
