नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले वातावरण तथा विपद् व्यवस्थापन शाखा मार्फत नागरिकलाई न्यायो प्रदान गर्न ८ सय थान कम्बल वितरण गरिएको छ । एक सातादेखि तराईमा शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि गाउँपालिका अन्तर्गत ६ वटै वडाका जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, सुत्केरी, गर्भवती तथा अति विपन्न परिवारलाई शुक्रबार न्यानो कम्बल वितरण गरिएको हो ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, वडा नम्बर ५ का अध्यक्ष एवम् प्रवक्ता टीकानाथ यादव, जिन्सी शाखा प्रमुख राजु यादवलगायतले वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका ८ सय जना नागरिकलाई न्यानो कम्बल वितरण गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष खाँले यस वर्ष जाडो चाँडै र तीव्र रूपमा बढेकाले ६५ वर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको बताउनुभयो । कम्बल वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खाँले स्थानीय सरकारले नागरिकको दुःख–सुखमा साथ दिनु नै जनप्रतिनिधिको धर्म भएको उल्लेख गर्नुभयो । “चिसोले कसैको जीवन जोखिममा नपरोस् भन्ने हाम्रो चाहना हो,” उहाँको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाहले जाडो बढेको वर्तमान अवस्थामा यस्ता वितरणमुखी कार्यक्रम अझ प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिनुभयो । उहाँले केवल कम्बलमै सीमित नभई बिहान खानाको व्यवस्था नहुने नागरिकको पहिचान गरी खाना र न्यानो कपडा समेत उपलब्ध गराउन सके मानवीय पक्ष अझ सशक्त हुने धारणा राख्नुभयो । गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिएको यो सहयोगले उनीहरूको अनुहारमा मुस्कान ल्याएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको सुन्दर पक्ष यही भएको औँल्याउनुभयो ।
वडा नम्बर ५ का अध्यक्ष यादवले चिसोको मारमा परेका नागरिकलाई राहत दिनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । पुस लाग्नासाथ जाडो बढेपछि जोखिममा परेका नागरिकलाई तत्काल राहत पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जिन्सी शाखा प्रमुख राजु यादवले जानकारी दिए ।
सूचना प्रविधि शाखाका प्रमुख विकास जिसिले पारदर्शी ढंगले वास्तविक लाभग्राहीको पहिचान गरी सहयोग वितरण गरिएको बताए ।
गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको वितरण कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत कृष्णा कुमारी भण्डारी, वातावरण तथा विपद् व्यवस्थापन समितिका शाखा प्रमुख राजेन्द्र बाजपेयी, सामाजिक विकास समितिका संयोजक रामअचल धोबी, योजना शाखाकि प्रमुख शोभा पौडेल, जिन्सी शाखाकि निरा हमाल, अध्यक्षको स्वकीय सचिव सोहराब इद्रीसी, वडा सदस्य, कर्मचारी तथा स्थानीयवासी लगायतको उपस्तिथि रहेको थियो ।


