नेपालगञ्ज । गत भदौ २४ गते जेनजी अन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएको यातायात व्यवस्था कार्यालय कारकाँदोमा एक सरकारी भवनमा सरेको छ । नेपालगञ्ज–१८ स्थित साविकको सीप विकास तालिम केन्द्रको भवनबाट अब यातायात व्यवस्था कार्यालय नेपालगञ्जले सेवा दिन सुरु गरेको हो ।
यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरु हुने गरेको कार्यालयका निमित्त कार्यालय प्रमुख कालीदास बस्यालले बताए । बस्यालले हाल ब्लुबुक नविकरण, रुट इजाजत र सवारी जाँचपास सम्बन्धी सेवा मात्रै सञ्चालनमा रहने जानकारी दिए ।
प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवाहरुलाई पुरानै लयमा फर्काउने गरी तयारी थालेको थियो । सोही अनुसार अत्यावश्यक सेवा मध्ये रहेको यातायात व्यवस्था कार्यालयको सेवा पुनः सुरु गरिएको छ । कार्यालय स्थापनाकालदेखि नै भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपल्ट आइतबारबाट सरकारी भवन साविकको सीप विकास तालिम केन्द्रको भवनमा कार्यालय स्थापना गरीएको हो । कार्यालय सार्नका लागि दुई दिन सेवा प्रवाह स्थगित गरिएका हुन ।
कार्यालयको भवन सेवाग्राहीमैत्री नहुँदा उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको थियो । उपयुक्त भवन खोजेर सिफारिस गर्न प्रदेश मन्त्रालयले भनेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सीप विकास तालिम केन्द्रलाई सिफारिस गरेको थियो । यातायात कार्यालय नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ९ स्थित एक निजी भवनमा वार्षिक करिब १२ लाख रूपैयाँँ भाडा तिरेर सञ्चालन हुँदै आएको थियो । सुरुमा कारकाँदोमा पर्ने सुर्खेतरोडमा एउटा निजी घरमा सञ्चालन भएको कार्यालय पछि भाडा सम्झौता अन्त्य भएपछि वडा नम्बर ९ बाँके गाउँस्थित एक निजी भवनमा सारिएको थियो ।


