काठमाडौं । आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरूवात गरेको छ । नेपालले बुधबार आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको सानदार जित निकालेको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो । कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले सबैभन्दा बढी २६ रन बनाए भने यसिन पटेलले १९ रन जोड्न सके । मीत भाश्वरले ११ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २-२ विकेट लिए । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १४१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । अन्तिम ओभरको पाँचौ बलमा आउट भएका भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए ।
त्यसअघि अर्का ओपनर आसिफ शेख भने ७ बल खेलेर २ रनमा हुँदा अकिफ फारुकको एलबिडब्लूको धरापमा परे । त्यसपछि कुशल मल्ल ४ रन र कप्तान रोहित पौडेल १६ रन जोडेर आउट भए । दुवैलाई नवीनराज राजेन्द्रनले बोल्ड गरेका थिए ।
सन्दीप जोरा ५ रनमा आउट भएपछि नेपालले १२ ओभर चल्दै गर्दा ४ विकेट गुमाउँदा ६३ रन मात्र जोडेको थियो । दीपेन्द्रसिंह ऐरी १९ बलमा २० रन बनाएर खेलिरहदा रनआउट भए ।
सुस्त ब्याटिङ गरेको नेपालले १९औं ओभरमा नवीनराज विरूद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो । उनीविरूद्ध कुशल भुर्तेलले दुई चौका र गुल्सन झाले तीन छक्का प्रहार गरेपछि नेपालले यो ओभरमा २७ रन जोडेको थियो । गुल्सन झा अन्तिम ओभरको दोस्रो बलमा आउट भए । गुल्सनले ६ बलमा ३ छक्काको मद्दतमा २० रन बनाए ।
बलिङमा कुवेतका नवीनराजले चार ओभरमा ४० रन दिएर २ विकेट लिन सफल भए । पहिलो तीन ओभरमा १३ रन खर्चिएका उनले आफ्नो स्पेलको अन्तिम ओभरमा २७ रन दिन बाध्य भएका थिए । अन्तिम ओभरमा कुवेतका अनुदिप चेन्थामाराले दुई विकेट लिए ।
यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् । नेपाल रहेको समूह २ मा कुवेत र जापान छन् । समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ । यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर-६ मा पुग्नेछ । सुपर-६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ ।
एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् । तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन् । यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन । त्यसैले समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ । किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछ । विश्वकपमा १७ टोलीले स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।



