Close sidebar

नेपालले विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले हराउँदै रच्यो इतिहास

२०८२ आश्विन १२ गते, आईतवार ०२:५४

काठमाडौं । नेपालले दुई पटकको विश्वविजेता वेस्ट-इन्डिजलाई १९ रनले हराउँदै इतिहास रचेको छ । युनिटी कप टी-२० शृंखलामा इतिहासिक विजयी सुरुवात गरेको नेपालले पूर्ण सदस्य टेस्ट राष्ट्र विरुद्ध जित निकालेको यो पहिलोपटक हो ।

युएईको शारजाहमा शनिबार सम्पन्न पहिलो टी-२० खेलमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट-इन्डिज नेपाली बलरहरूको सानदार बलिङ र उत्कृष्ट फिल्डिङको अगाडि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमा समेटियो ।

नेपालका लागि अलराउन्डर कुशल भुर्तेल नायक बने । उनले ब्याटिङमा रन बनाउन नसके पनि बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । उनले जेसन होल्डरलाई कप्तान पौडेलको हातबाट क्याच गराए भने नभिन बिदाइसीलाई हिट विकेटको सिकार बनाए ।

त्यस्तै, ललित राजवंशीले २ ओभरमा मात्र ६ रन दिएर १ विकेट लिँदै निकै किफायती बलिङ गरे । दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव र कप्तान रोहित पौडेलले पनि एक-एक विकेट आफ्नो नाममा लेखाए ।

नेपालको उत्कृष्ट फिल्डिङका कारण वेस्ट-इन्डिजका दुई ब्याट्सम्यान काइल मेयर्स र केसी कार्टी रनआउट हुन पुगेका थिए । जस कारण पनि खेलको नतिजामा ठूलो प्रभाव पार्यो । वेस्ट इन्डिजका लागि नभिन बिदाइसीले सर्वाधिक २२ रन बनाए भने अमिर जांगु र फाबियन एलेनले १९-१९ रन जोडे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । नेपालको सुरुवात निकै खराब रह्यो र १२ रनमै दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) लाई गुमाइसकेको थियो ।

सुरुवाती संकटमा परेको नेपालको इनिङ्सलाई तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले उकासेका थिए । उनीहरूले ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याए ।

कप्तान पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए भने कुशल मल्लले २१ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रनको विस्फोटक पारी खेले । त्यसपछि गुलशन झाले १६ बलमा २२ तथा दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन जोडेका थिए ।

वेस्ट-इन्डिजका लागि बलिङमा अनुभवी अलराउन्डर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए भने नविन बिदाइसीले २९ रन दिएर ३ विकेट हात पारे । यो जितसँगै नेपाल तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । नेपालले अब दोस्रो र तेस्रो खेल क्रमशः असोज १३ र १४ गते खेल्नेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया