Close sidebar

डुडुवामा दुई सातादेखि तालाबन्दीका कारण सेवा प्रभावित

२०८२ आश्विन ९ गते, बिहीबार ०२:४८

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा दुई सातादेखि गाउँपालिकाको दैनिक कार्य संचालन रोकिएको छ । गाउँपालिका कार्यालयमा केही व्यक्ति पसेर गाउँपालिकाको केही सामानहरुमा आगजनी गरे फरार घट्नाले पालिकाको कार्य संचालनमा बाधा बनाएको हो ।जेनजीको नाममा गाउँपालिका कार्यालयमा केही व्यक्तिहरु पसेर लेखा शाखालगायत शाखाबाट केही कागजात निकालेर जलाएको गाउँपालिकाले भन्दै आएको छ । त्यसपछि निर्वाचनका समयदेखि नै बिपक्षमा रहेकाहरुले घट्नाको छानबीनको माग गर्दै गाउँपालिका कार्यालयभित्रको अनुगमन र बिरोध कार्यक्रमले गाउँपालिकाको कामकाज शून्य बनाएको छ ।

दुई साताअघि तालाबन्दीबन्दीसँगै गाउँपालिकाको सम्पूर्ण सेवाहरु ठप्प भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर दुई सातादेखि सम्पूर्ण सेवाहरु ठप्प भएको जनाएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पत्रकार सम्मेलनमा आगजनीको घटनामा संलग्नलाई आवश्यक कानूनी कारबाही र गाउँपालिका संचालनको पहल गरिदिन प्रशासनलाई अनुरोध गरेको बताउनुभयो । उहाँले यतिका दिनसम्म गाउँपालिकामा भएको समस्या समाधानका लागि पहल गरिदिन प्रशासनलाई अनुरोध गरेपनि हालसम्म पहल नभएको बताउनुभयो । गाउँपालिकाले छानबीन समिति समेत बनाएको छ ।

अध्यक्ष चौधरीले गाउँपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य सगीर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको बताउनुभयो । सो समितिमा डुडुवा वडा नम्बर १ का वडाअध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र शिवकुमार मौर्य सदस्य रहनुभएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताउनुभयो । अध्यक्ष चौधरीले प्रशासनले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानूनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखि नेपालगन्ज केन्द्रीत आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो । गत भदौं २५ गते अन्दाजी साँझ साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अज्ञात समुहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै अर्को समुह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत-जावत गरी नगर प्रहरीलाई धम्की दिएका थिए ।  त्यसको भोलिपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पुर्वमन्त्रीद्धय भण्डारीलाल अहिर र विजयबहादुर यादवको नेतृत्वमा ३०÷३२ जनाको संख्यामा गाउँपालिका भित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया