मो. ताहिर शेष राई( साहिल)
नेपालगन्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही व-सल्लमको १५०० औं जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ भोलि धुमधामका साथ मनाइदैँ छ । जन्मोत्सवको अवसरमा आज नेपालगन्जस्थित मुस्लिम समुदायको घर-घर, टोल र चोकमा गेट बनाई झिलिमिली बत्तीले दुलही झै सिंगारिएको छ ।
जन्मोत्सव अर्थात ‘मोहम्मद डे’ का दिन शुक्रबार नेपालगन्जको एक्लैनी स्थित फैजुनब्बी जामा मस्जिदबाट बृहत र्याली निकालिने छ । र्याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, धम्बोझी, घरबारीटोल हुँदै पुनः गौसिया मस्जिदमा पुगेर समापन हुने नेपाल मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालले जानकारी दिए ।
‘मोहम्मद डे’लाई ईद मिलादुन्नबी एवम् १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । मुस्लिम समुदायले आज राती जागरम बसी हजरत मोहम्मद सल्लल्लाहु अलैही व-सल्लमको उपदेश स्मरण गर्ने, दुरुद फातिहा गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ ।
मुस्लिम समुदायले मोहम्मद डेका अवसरमा गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगनलाई सफा-सुग्घर राख्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्ज्वलन गर्ने लगायत क्रियाकलाप गर्छन् । मोहम्मद डे को अवसरमा गृह मन्त्रालयले शुक्रबार नेपाली मुस्लिम धर्मावलम्बीहरुका लागि मात्र सार्वजनिक विदा दिएको विज्ञप्तिमा उल्लेख छ ।


