Close sidebar

महिलाहरुले आज नाचगान गरि हरितालिका तीज पर्व मनाउँदै

२०८२ भाद्र १० गते, मंगलवार १०:३९

नेपालगन्ज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । बिहानैदेखि बागेश्वरी मन्दीरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । आज महिलाले व्रत बसी शिवजीको पूजाआजा र नाचगान गर्ने चलन छ । हरण गरिएकी सखिद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हेरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ । तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ ।

हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो । त्यसैले राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीजको व्रत बस्ने गरेको देखिन्छ । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात गर्दै सांस्कृतिक सञ्जीवनीले पनि यो पर्व ओतप्रोत छ ।

भगवानको आराधनासहित आजका दिन महिलाहरूले तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलनस्वरूप विभिन्न धार्मिकस्थलमा महिलाहरूले मादल घन्काउँदै नाचगान गरेको दृश्य देखिन्छ ।

केही वर्षयता तीज आउनुअघि नै भड्किलोरूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुनेखानेको मात्र नहोस् भन्ने चिन्ता पनि गर्न थालिएको छ। अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरुत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने आम महिलाले बताएका छन् । तीजको अवसरमा बाँकेस्थित नेपालगन्जको बागेश्वरी मन्दिर, खजुरा र कोहलपुरलगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिदैछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया