मो. अरशद शेष राई✍️
नेपालगन्ज । मुस्लिम समुदायले मनाइने ‘चहल्लम’ पर्व आज नेपालगन्जमा ताजिया बिर्सजन गरि सम्पन्न गरिँदै छ । हजरत इमाम हुसैन (अ.स.) तथा कर्बलाका शहीदहरूको सम्झनामा मोहरर्मको ४० औं दिनपश्चात् मनाइने ‘चहल्लम’ पर्व आइतबार नेपालगन्जको फुल्टेक्रास्थित स्थानीय कर्बलामा शान्ति सद्भावका साथ ताजिया बिर्सजन गरि चहल्लम’ पर्व सम्पन्न गरिँदै छ ।
आज दिउँसो करीब ३ बजेतिर निस्किने कर्बलाको झ्याँकी, दुलदुल, अलम, ताजिया, बाजागाजा र लठ्ठीकला प्रदर्शनसँगै अग्नि कला प्रदर्शन सहितको हुसैनी जुलुस सदरलाईनदेखि शुरु भई त्रिभुवन चोक, त्रिवेणी मोड, गौसिया मस्जिद हुँदै कर्बलामा परम्परा अनुसार ताजिया विसर्जन गरि चहेल्लम पर्व विधिपूर्वक समापन हुने मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति धम्बोझीका अध्यक्ष मेराज अहमद (हिमाल)ले जानकारी दिए ।
अध्यक्ष हिमालका अनुसार गएराति (शनिबार) नगरको केही स्थानमा स्थापना गरिएको ताजियालाई कर्बलाको झ्याँकी सहित निस्किएको हुसैनी जुलुस, अलमलाई फुल्टेक्रा, डिएसपी रोड, गौसिया मस्जिद, एक्लैनी, महेन्द्र पार्क, सदरलाई लगायत नगरका विभिन्न ठाउँको परिक्रमा गरी नेपालगन्जको त्रिभुवन चोकस्थित भेला भई ताजिया र अलमको मिलान गरि ‘चहल्लम’ पर्व मनाइएको हो ।
सद्भावको शहर नेपालगन्जमा शनिबार राति निस्किएको हुसैनी जुलुसमा महतम र लठ्ठी प्रदर्शन समेत गरिएको थियोे । चहल्लमको जुलुस अवधिभर निकै सक्रियतापूर्वक भूमिका निर्वाह गरि शान्ति सद्भावका साथ जुलुस सम्पन्न गराइएकोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अध्यक्ष हिमालले धन्यवाद समेत दिए ।
स्मरणीय रहोस् इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद (स.अ.)का नाती हजरत इमाम हुसैनसहित उहाँका परिवारका सदस्य, आफन्त लगायत अन्य मित्रहरुले शताब्दिऔं अघि ईराकस्थित कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस सहित चहल्लम पर्व मनाइने गरिन्छ ।


