काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रूपमा सबै सवारीासाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने÷गराउने निर्णय गरेका हुन ।
देशभरका सबै यातायात व्यवस्था कार्यालयहरूबाट सवारीसाधन दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागु हुनेगरी अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने÷गराउने बैठकले निर्णय गरेको छ ।
सो बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमतिपत्र वितरणका लागि राजश्वमा एकरूपता कायम गर्ने निर्णय गरेको हो । उक्त निर्णयको कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गर्ने निर्णय गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७८ कात्तिक २२ मा राजपत्रमा प्रकाशन गर्दै सोही वर्षको मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सूचना जारी गरेको थियो ।
यसैगरि बैठकले सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइको लागि गत जेष्ठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यो विषयमा सुरक्षण मुद्रण केन्द्रले २०८२ आषाढ मसान्तसम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन शुरू गर्ने गरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति भएकोमा भाद्र मसान्तभित्र यथाशीघ्र छपाइ शुरु गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।


