काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्ततः स्थगित गरिएको छ । शिक्षक आन्दोलनको तीव्र दबाबसामु राष्ट्रिय परीक्षा बोर्ड झुक्दै अब वैशाख २१ गतेदेखि मात्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षा बोर्डले मंगलबार बिहान मात्रै ‘कर्मचारी राखेर भए पनि परीक्षा गराउने’ अडानसहित निर्णय सार्वजनिक गरेको थियो । तर, उक्त निर्णय सार्वजनिक भएको करीब ६ घन्टा नबित्दै बोर्डले ‘यू-टर्न’ लिँदै परीक्षा १० दिन पछाडि सारेको जनाएको छ ।
शिक्षकहरुको सहभागिता हुन नसक्ने अवस्था आएपछि परिस्थिति सम्हाल्न परीक्षा सारिएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत २१ दिनदेखि जारी शिक्षक आन्दोलनले परीक्षा प्रक्रिया प्रभावित पार्ने संकेत दिँदै शिक्षकहरुले लिखित रुपमा परीक्षा नलिने अडान जनाएपछि सरकार र बोर्ड दुवैको अडान कमजोर भएको देखिएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्रै राजीनामा दिएको पृष्ठभूमिमा आज परीक्षा स्थगनको निर्णय आउनु, आन्दोलनको प्रभावको स्पष्ट प्रमाणका रूपमा हेरिएको छ । अब परीक्षा सारिए पनि आन्दोलनको निरन्तरताले वैशाख २१ पछि परीक्षा निश्चित रूपमा हुने वा फेरि अन्योलमा पर्ने भन्ने प्रश्न अझै बाँकी छ ।



